भारी वर्ष पछि भक्तपुरको अधिकांश क्षेत्र डुवानमा

भाद्र १०, भक्तपुर  – भारी वर्ष पछि हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुरको अधिकांश क्षेत्र डुवानमा परेको छ । भक्तपुरको च्यामासिंह–जगाते सडकखण्ड अन्तर्गत खोला किनारका दायाँ बायाँका घर डुवानमा परेका हुन् ।

घरघरमा पानी पस्दा घरभित्रका सामानमा क्षति पुगेको छ । बाढीले महेश्वरी खेल मैदानमा रहेको भूकम्प पीडित अस्थायी शिविर समेत डुवानमा परेको छ ।
यो क्षेत्रमा तीन फिट भन्दा बढी पानी जमेको छ । यहाँ भक्तपुर र सिन्धुपाल्चोकका ८ सय ५० जना भन्दा बढी भूकम्प पीडितले आश्रय लिइरहेका छन् ।
उता, भक्तपुरकै सिद्धि स्मृति बाल अस्पताल पनि डुवानमा परेको छ । अस्पतालभित्रै हनुमन्ते खोला प्रवेश गरेपछि अहिले बिरामीलाई माथिल्लो तल्लामा राखेर उपचार भइरहेको छ ।
यस्तै भक्तपुरकै राममन्दिर एरिया, भेलुखेल, सिर्जनानगर तथा राधे–राधे क्षेत्र समेत डुवानमा परेको छ । उता, अबिरल बर्षासँगै अरनिको राजमार्गको साँगा भञ्याङमा पहिरो जाँदा राजमार्ग अबरुद्ध बनेको छ ।
यसैबीच बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर एउटा जंगली हात्तीको मृत्यु भएको छ ।