प्रधानमन्त्रीले असन्तुष्ट पक्षसँग वार्ता गर्ने

भाद्र १०, काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुसँग वार्ता थाल्नु भएको छ । हिजो नेकपा–माओवादीसँग वार्ता गर्नुभएका प्रधानमन्त्री कोइरालाले आज अन्य असन्तुष्टि पक्षसँग छलफल गर्दैहुनुहुन्छ ।

प्रधानमन्त्री कोइरालाले साँझ तराई मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम(गणतान्त्रिक), तराई मधेस सद्भावना पार्टी र थारु कल्याणकारी सभाका अध्यक्ष तथा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, संयुक्त दलित आन्दोलन नेपाल, दलित नागरिक समाज, दलित सभासद् समन्वय समितिलाई पत्राचार गरी वार्ताको लागि बोलाउनु भएको छ ।

आजदेखि पर्सीसम्म निरन्तर वार्ता गरिने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । पत्रमा प्रधानमन्त्री कोइरालाले वार्ताबाटै समस्या समाधान हुने भएकाले वार्तामा आउन आग्रह गर्नुभएको छ । आज वार्ताको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।