संविधानसभाको बैठक आज बस्दै

भदौ ६, काठमाण्डौ— संविधानसभाको बैठक आज बस्दैछ । संविधानको बैठकमा संविधान विधेयक मस्यौदा आज टेबुल गरिनेछ । बैठक आज साँझ ६ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने छ । संविधानको अन्तिम मस्यौदा अध्ययनका लागि सभासदहरुले तीन दिनको समय पाउने भएका छन् ।

संविधान लेखनको कार्यतालिका छोट्याएर चाँडै संविधान जारी गर्ने तयारीमा संविधानसभा सचिवलाय लागि परे पनि मस्यौदा अध्ययनका लागि पूर्वनिर्धारित तालिकामा परिवर्तन नगरिने संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सीआईएसँग बताउनुभयो । संविधानको अन्तिम मस्यौदामा संसोधन हाल्नका लागि ७ दिनको समय दिने तयारी भइरहेको भन्दै नेम्वाङले त्यसअघि पनि विवादित विषयमा सहमति जुटाउन प्रधानमन्त्री र प्रमुख सचेतकहरुलाई आग्रह गरेको जानकारी दिनुभयो ।

संविधानसभाको बैठक सुरु भएपछि दिनरात नभनेर काम गरिएको अवस्थामा यही भदौ महिनामा मुलुकले नयाँ संविधान पाउने सभाध्यक्ष नेम्वाङले दावी गर्नुभयो । दलहरुबीच ७ प्रदेशमा सहमति भएपछि संविधान मस्यौदा समितिले हिजो नै मस्यौदाको अन्तिम बिधेयक सभाअध्यक्ष नेम्वाङलाई बुझाइ सकेको छ । आज बिहान ११ बजे बस्ने व्यवस्थापिका–संसद्ले संविधानसभाको बैठकका सम्बन्धमा सम्बन्धमा आधिकारिक जानकारी गराइनेछ । संविधानसभाको भोलिको बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।