नेपाल आदिवासी जनजाति महासंघको बन्दको कारण देशभरको जनजीवन प्रभावित

भदौ ६, काठमाण्डौ—नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दका कारण राजधानी सहित देशभरको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण सार्वजनिक सवारी सधान कम चलेका छन् भने बजार पनि खुल्न सकेको छैन ।  बौद्ध, कलंकी क्षेत्रमा केही सवारी साधनमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
जबरजस्ती बन्द गराउँदै हिडेको भन्दै प्रहरीले गुरुङ संघको अध्यक्ष रेशम गुरुङसहितको समूहलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको छ । पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नु पर्ने लगायतको माग राख्दै जनजाति महासंघले आज र भोलि नेपाल बन्दको आह्वान गरेको छ ।
यसैविच आदिवासी जनजातिले गरेको नेपाल बन्दले बागलुङको जनजीवन प्रभावित भएको छ । संविधानको नयाँ मस्यौदाको विरोध गर्दै महासंघले आयोजना गरेको बताएको छ । विगतमा गरेको सहमति र अन्तरिम संविधानको भावना विपरित नयाँ संविधान ल्याउन लागिएको भन्दै विरोधस्वरुप महासंघले बन्द आव्हन गरेको जनाएको छ ।
यसैविच संयुक्त मधेशी मुक्ति मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई, मधेश र थरुहट बन्दले आज पनि सम्पूर्ण कपिलवस्तुमा बिहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि साधन चलेका छैनन् भने बजार, उद्योग, शिक्षण संस्था पूर्णरुपमा बन्द छन् । बिहानैदेखि बन्दकर्ताले जिल्लाको, पकडी, महाराजगंज, कृष्णानगर, बहादुरगंज, चन्द्रौटा, गोरुसिङ्गे, चेतरादेई, चार नम्बरलगायतका क्षेत्रमा बन्द गराउने गरेका छन् । बन्दका कारण कृष्णनगर तथा मर्जादपुर भन्सार कार्यालयको कामकाज समेत बन्द भएको छ ।
उता साउन २७ गतेदेखिको बन्दले दाङको जनजिवन अस्तव्यस्त वनेको छ । प्रदेशको सिमाङ्कन आफुहरुको माग अनुसार नभएको भन्दै थारुहट, थारुवान संयुक्त संघर्ष समितीले आन्दोलनलाई थप सशक्त पार्ने जनाएको छ । आदिवासी जनजाती महासंघले पनि आज र भोलिका लागि बन्दको घोषणा गरेपछि थप कष्टकर बन्दै गएको छ । बन्दमा दाङको विजौरी देखि पश्चिम भेगका विद्यालयहरु खुल्ने भएका छन् भने पुर्वि भेगका विद्यालयहरु भने बन्द नै रहने भएका छन् ।