प्रमुख दलहरु थप छलफल गर्दै, विधेयक माथिको छलफल भोलिबाट

भदौ ५, काठमाडौं – प्रमुख राजनीतिक दलबीच सात सङ्घीय प्रदेश बनाउने सहमति भएपछि त्यसको विरोध र स्वागत भएको छ । ६ प्रदेशको सहमतिमा सँगै रहेको फोरम लोकतान्त्रिकले पनि ७ प्रदेशको विरोध गरेको छ । विभिन्न दल र क्षेत्रबाट बाएका असन्तुष्टिका विषयमा छलफल गर्न आज दलहरुको बैठक बस्दैछ ।

फोरम लोकतान्त्रिकको असन्तुष्टि र बाँकी रहेका विवादमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्ने तयारी छ तर बैठक बस्ने समय यकिन भइनसकेको दलहरुले बताएका छन् । एमालेका उपाध्यक्ष भीम रावलले दलहरुले हिजो गरेको सहमति अन्तिम हुने तर त्यसमा देखिएका असन्तुष्टिका विषयमा छलफल गरेर संविधान जारी भएपछि पनि मिलाउन सकिने गरि जाने बताउनुभयो । उहाँका अनुसार संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन नयाँ सहमति गरिएको हो ।

धर्म, मत प्रतिशत सीमा र न्यायपालिकाका केही विषय तथा महिला र दलितका विषयमा केही सहमति कायम गर्न बाँकी रहेकाले संशोधन दर्ता गर्ने समयसम्म मिलाउने उहाँले बताउनुभयो । संविधानको परिमार्जित विधेयकमाथि भने भोलि देखि मात्रै छलफल हुने भएको छ । समितिका सभापति कृष्णप्रसाद सिटौलाले भोलि संविधानसभामा विधेयक टेबुल गरेपछि छलफल हुनेछ ।