सार्क अर्थमन्त्रीस्तरीय बैठक आजदेखि काठमाण्डुमा

भदौ ३ , काठमाडौँ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौं बैठक यही आज सुरु हुने भएको छ । काठमाण्डुमा हुने बैठकमा समग्र सार्कको आर्थिक विकासका विषयमा छलफल हुनेछ । सार्कस्तरको यो नियमित बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने र अध्यक्षता अर्थमन्त्री डा रामशरण महतले गर्नुहुने अर्थमन्त्रालयले जानकारी दिएको छ । बैठकले भूकम्पपछि पनि नेपालले अन्तर्रा्ष्ट्रियस्तरको कार्यक्रम गर्न सक्षम छ भन्ने सन्देश दिने अर्थ सचिव सुमनप्रसाद शर्माले विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्रीस्तरीय छैटौँ बैठक श्रीलङ्काको कोलम्बोमा सन् २०१३ को अगष्टमा सम्पन्न भएकोे थियो ।

अठारौं सार्क शिखर सम्मेलन, नेपालको पुनःनिर्माणका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन (आइसिएनआर) सफलतापूर्वक आयोजनापछि अन्तर्रा्ष्ट्रियस्तरको यो नै ठूलो सम्मेलन नेपालले गर्न लागेको हो । बैठकमा सार्क क्षेत्रमा लगानीको अवस्थामा सुधार गर्ने, गभर्नरस्तरीय बैठक, साझा मुद्राको प्रचलन र सार्कस्तरमा सबै राष्ट्रको मुद्रा चलनचल्तीमा आउने अवस्था सिर्जना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

नेपालका तर्फबाट बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा महत, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र सचिव शङ्करदास बैरागीलगायतको प्रतिनिधि मण्डलको सहभागिता रहनेछ ।