विवादित विषयमा टुङ्गो लगाउन विशेष समितिको बैठक बस्दै

भदौ ३ , काठमाडौँ – सीमांकनसहित संविधानका विवादित विषयमा टुङ्गो लगाउन दलहरुले आज पनि छलफल गर्दैछन् । आज बाँकी रहेका विषयमा सहमति गर्ने र सहमति हुन नसकेका विषय संविधानसभामा फर्काउने गरि दलहरुले तयारी गरेका छन् । मुख्य चार दलका शीर्ष नेताहरुको छलफल सहमति नजिक पुगेको नेताहरुले दावी गरेका छन् । सहमति गर्न बिहान आन्तरिक र दिउँसो विशेष समितिको बैठक बोलाइएको छ ।

स्वायत्त कर्णाली र थरुहटको मागमा नेताहरुको छलफल केन्द्रित छ । प्रदेशको संख्या यसअघि ६ मा सहमति गरेपनि पाँच वा सात बनाउने दुवै विकल्पमा छलफल भइरहेको छ । कांग्रेस नेता तथा मस्यौदा समितिका सदस्य रमेश लेखकले आज दलहरुबीच छलफल गरेर निस्कर्षमा पुग्नेगरि हिजो अबेर सहमति भएको बताउनुभयो । त्यसै अनुसार आज छलफल गरेर निचोड निकाल्ने र निचोड निकाल्न नसकेका विषय संविधानसभामा बुझाउने तयारी दलहरुले गरेका छन् ।

संविधान मस्यौदा समिति अन्र्तगतको विशेष कार्यदलको म्याद चार दिन थपिएको छ । कार्यदलले भदौं ४ गतेसम्म संविधानको विधेयक बनाउनुपर्ने गरी समयसिमा तोकिएको छ । प्रदेशको सिमांकन, धर्म निरपेक्षता, निर्वाचनको थ्रेस होल्ड, संवैधानिक निकायका पदाधिकारीको पुनरनियुक्ति, नागरिकतालगायतका विषयमा मुख्य दलका शीर्ष नेताहरुबीच औपचारिक र अनौपारिक रुपमा छलफल भइरहेको छ ।