वाणिज्य बैंकको तौलिहवा शाखा बर्षेनी घाटामा

साउन ३२ , कपिलबस्तु – राष्ट्रिय बाणिज्य बैंकको तौलिहवा शाखा प्रयाप्त ऋण लगानी गर्न नसक्दा बर्षेनी घाटामा संचालन हुदै आएको छ । निक्षेप रकमको २० प्रतिशत भन्दा पनि थोरै ऋण लगानी हुदा बिभिन्न निकाय र ब्यक्तिहरुबाट थुप्रिएको निक्षेपका कारण तरलता बढेपनि त्यस अनुसारको लगानी नभएकोले बैंकलाई निरन्तर घाटा लाग्दै आएको हो । निक्षेपमा बर्षेनी बृद्धि भएपनि न्युन मात्र लगानी भएकाले यो समस्या समाधान हुन नसकेको जनाईएको छ ।

लगानी हुन नसक्दा बैंकलाई गत आर्थिक बर्ष २०७१÷७२ मा ८२ लाख घाटा लागेको बैंकको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ । गत बर्ष कुल १ करोड ६८ निक्षेप संकलन भएकोमा बैंकबाट १७ करोड ७४ लाख ऋण लगानी गरेको छ । २१ करोडको ऋण स्विकृत भए पनि बाँकी रकम भने नझिकिएकोले बैंकमै थन्किएको थियो । आर्थिक बर्ष २०७०÷७१ मा बैंकमा १ अर्व ४६ करोड ७ लाख निक्षेप संकलन भई १४ करोड १४ लाख कर्जा प्रवाह भएको थियो ।

जसले गर्दा बैंकलाई १ करोड २८ लाख घाटा लागेको थियो । बार्षिक ढेड अर्बको हाराहारीमा जम्मा हुने निक्षेप अनुसार ऋण लगानी हुन नसक्दा बैक निरन्तर घाटामा चली रहेको बैंकका प्रबन्धक गोबिन्द खनालले बताउनुभयो । बैंकले कारोवार गर्ने क्षेत्रमा ठुला उद्योगी ब्यवसायी नभएकोले समेत कजौ प्रवाहमा समस्या देखिएको प्रबन्धक खनालले बताउनुभयो ।