जुम्लामा कफ्र्यु जारी, बिहान एक घण्टा खुल्ला

साउन ३२ , जुम्ला – जुम्लामा जारी आन्दोलनपछि हिजो साँझ ५ बजेपछि लगाइएको कफ्र्यु आज बिहान १ घण्टाको लागि मात्र खुला गरिएको छ । स्थानिय प्रशासन ऐन २०२८ को ६ क अनुसार लगाइएको कफ्र्यु आज बिहान स्थानिय जनतालाई दैनिक उपभोग्य सामान खरीद बिक्रिका लागि एक घण्टा मात्र खुलाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । अर्को आदेश नआएसम्म बिहान ८ बजेपछि भने फेरि कफ्र्यु यथावत रहने प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

कफ्र्यु लगाइएको क्षेत्र भित्र कोही कसैलाई आवातजावत नर्गन उहाँले अनुरोध पनि गर्नुभएको छ । कफ्र्यु लगाइएको क्षेत्रहरु एअरपोर्टदेखि पश्चिम, ट्राफिक कार्यालयदेखि पुर्व, छिना साँगुदेखि उत्तर र जुम्ला बहुमुखि क्याम्पसदेखिको दक्षिणी क्षेत्र रहेको छ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएकामाथि भएको प्रहरी हस्तक्षेपमा घाइते भउका ६ जनाको अवस्था गम्भीर रहेको छ ।