डेढ अर्बको अलैँची निर्यात

साउन ३१, काठमाडौँ – आव २०७१/०७२ मा यहाँबाट करिब रु एक अर्ब ४१ करोड बराबरको अलैँची निर्यात भएको छ ।जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको ६२७ मेटन अलैँची प्रतिटन रु २५ लाखमा बिक्री हुँदा रु एक अर्ब ४१ करोड ७ लाख ५० हजारको निर्यात भएको छ ।

कार्यालयका प्राविधिक डिल्ली पौड्यालले भन्नुभयो, “गत वर्षभन्दा उत्पादन घटेको देखिन्छ भने मूल्य बढेको छ, अहिले ६२७ मेटन अलैँची उत्पादन भएको थियो, सोमध्ये ५६४ टन अलैँची जिल्ला बाहिर गएको छ ।”
उत्पादित अलैँची प्रायः झापाको बिर्तामोडतिर निकासी भएको देखिन्छ । पछिल्लो समय छिर्के फुर्के र गानो कुहिना, डढुवाका प्रकोपका कारण अलैँची मासिन थालेपछि कृषि विकास कार्यालयले समेत ती क्षेत्रमा प्रत्येक वर्ष विरुवा वितरण गर्दैै आएको छ ।
जिल्लाका रानीटार, लुङ्रुपा, सिदिन, मेमेङ, प्राङबुङ, एकतीन, रवि, सराङ्डाँडा, आङ्सराङ, कुरुम्बा, फाक्तेप, चिलिङ्देन, नाँगीलगायत गाविसलाई अलैँचीको मुख्य क्षेत्रका रुपमा लिइन्छ ।