बन्दका कारण तराइृका जिल्लाको जनजीवन कष्टकर

साउन २९ , काठमाडौं – बन्दका कारण तराइृका जिल्लाको जनजीवन आज पनि कष्टकर बनेको छ । सबैभन्दा बढी मध्यपश्चिमका तराई जिल्लामा प्रभाव परेको छ । छुट्टै थरुहट प्रदेशको मागसहित थरुहट तथा थारुवान संघर्ष समितिले गरेको बन्दको कारण तराईका २२ जिल्लाको जनजीवन प्रभावित उको छ । आज तेस्रो दिन पनि कुनै पनि यातायातका साधन चलेका छैनन । बन्दका कारण थारु बाहुल्य दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित कपिलबस्तु, रुपन्देही र नवलपरासीसम्मको जनजीवन प्रभावित बनेको छ । बन्दबाट उद्योग, कलकारखाना, शिक्षण संस्था सञ्चालन हुन सकेका छैनन् भने सवारी साधन पनि थोरै चलेका छन् । थारुको पहिचान कायम राख्न माग गर्दै आह्वान गरिएको बन्द साउन ३२ गतेसम्म जारी रहने संघर्ष समितिले जनाएको छ । मध्यपश्चिमका जिल्ला पनि बन्द जारी रहेको छ । मध्यपश्चिमको सुर्खेत, कर्णालीका जिल्लाहरुमा आज पनि बन्दले जनजीवन प्रभावित भएको छ ।

यसैविच कर्णालीलाई मध्यपश्चिमबाट अलग गरेर सुदूरपश्चिममा मिलाइएको भन्दै जुम्लामा भइरहेको आन्दोलनका क्रममा आज पनि जुम्ला बिहानैदेखि तनावग्रस्त रहेको छ । जुम्लामा आन्दोलनलाई सफल पार्न स्थानीयबासिन्दाले गाउँमा सार्वजनिक काम बन्द गरेर आन्दोलन गरीरहेका छन् भने गाउँगाउँबाट आन्दोलनका लागि सदरमुकाम आइरहेका छन् । बन्दले पाँच दिनदेखि कुनै पनि सवारी साधन चल्न सकेका छैनन् भने जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द रहेका छन् । शिक्षकहरु पनि हातमा कालो पट्टी बाँधेर शिक्षकहरु पनि आन्दोलनमा उत्रिएका छन् । अनिश्चित कर्णाली बन्दले कर्णालीमा नियमित हुँदै आएको हवाइउडान समेत हुन सकेको छैन ।
यता थरुहट स्वायत्त प्रदेशको माग गर्दै थरुहट र थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण बन्द रहेका दाङका विद्यालय भने आजदेखि खुल्ने भएका छन् ।
बन्दलाई व्यवस्थित बनाउने सन्दर्भमा हिजो नेपाल पत्रकार महासंघ दाङको पहलमा भएको सर्वपक्षीय छलफलमा जिल्लाका सम्पूर्ण विद्यालय खुल्ने समहती भएको हो । उद्योग वाणिज्य संघ, नागरिक समाज, मानवअधिकारकर्मी, प्याब्सन लगायत सर्वपक्षीय छलफलले विद्यालय खोल्ने सहमति गरेको हो ।