डोटीमा पहिरोको डरले अढाई सय परिवारले घर छाडे

साउन २८ ,डोटी – सोमबार रातीको भारी बर्षापछिको बाढी पहिरोले डौड र तोलेनी गाविसका अधिकांश बस्तीहरु जोखिममा रहेका छन् । ठाउँठाउँमा पहिरो र चिरा परेपछि दुवै गाविसका अधिकांश बस्तीहरुमा पहिरोको जोखिम बढेको छ ।

अझै पहिरो आउने डरले दुवै गाविसका दुई सय पचासभन्दा बढी घरधुरीले घर छाडेको दुवै गाविसका सचिव लालबहादुर बोगटीले बताउनुभयो । उहाँका अनुसार यसरी घर छाडेकाहरु छिमेकी गाउँमा आश्रय लिएर तथा जंगलमा छाप्रा बनाएर बसेका छन् ।

स्थानीयका अनुसार दुवै गाविसका आठ वटाभन्दा बढी बस्तीहरु बस्नै नसकिने अवस्थामा पुगेका छन् । डौड गाविसको ३ वटा वडा तथा तोलेनीको ४ वटा वडाहरुमा अत्याधिक जोखिम देखिएको छ ।