संविधानको पहिलो विधेयक लेखन कार्य आजबाट सुरु

साउन २८, काठमाडौँ –  पाँच दिन भित्र संविधानको पहिलो विधेयक तयार गर्न समय पाएको मस्यौदा समितिले आजबाट विधेयक लेखन कार्य सुरु गर्दै छ । संविधानसभाले बढीमा ५ दिनभित्र विधेयक तयार पार्न समितिलाई निर्देशन दिए पछि लेखन कार्य स’रु गरेको हो ।
। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभा पेश गरेको प्रतिवेदन पारित गर्दै संविधानसभाले बहुमतका आधारमा पहिलो विधेयक तयार पार्न निर्देशन दिएको हो ।
नागरिकको सुझावका आधारमा मस्यौदा परिमार्जन गर्नुपर्ने, धर्म निरपेक्षता लगायत मिल्न बाँकी विषय मिलाउन तथा परिमार्जन गर्न मस्यौदा समितिलाई संविधानसभाले निर्देशन दिएको हो । छलफलमा भाग लिएका एक सय ८१ जना सभासदले सडकमा व्यक्त भएका जनताका भावनालाई संबोधन गरिनुपर्ने, कर्णालीलाई विशेष अधिकार दिनुपर्ने, लगायत सुझाव दिएका छन् ।
अहिले नै पछि परेको क्षेत्रलाई ठूलो प्रदेशमा गाभ्दा झन्पछि पर्ने भएकाले सानो एकाइ बनाउन सभासदले माग गरेका हुन् । मस्यौदामा दलित, जनजाति, थारु, मधेसीको अधिकारलाई सुनिश्चित गर्नुपर्ने पनि सभासदले सुझाव दिएका छन् ।
सभासदका प्रश्नको जवाफ दिँदै सभापति डा. बाबुराम भट्टराईले अहिले नै अन्तिम संविधान तयार भईनसकेकोले सुझावका आधार परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले सीमांकनको विषयमा नागरिकले व्यक्त गरेको चासो जायज भएकाले पहिचान र सामथ्र्यका आधारमा सुधार गरिने बताउनुभयो ।
सभापति भट्टराईले तयार भएको संविधानको मस्यौदा सम्झौताको दस्तावेज भएकाले सबैले भने जस्तो बनाउन नसकिने प्रष्ट पार्नुभयो । उहाँले संविधानमा सबैको भन्दा पनि धेरैको भावना समेटिने बताउनुभयो ।