अब टेलिकमको रिचार्जबाटै बिजुलीको बिल भुक्तानी

साउन २४, काठमाडौं – नेपाल टेलिकमको रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्न सम्भव देखिएको छ । नेपाल विद्युत प्राधिकरणले टेलिकमको रिचार्जकार्डबाट बिजुलीको विल तिर्न सम्भव/असम्भवबारे धारणा मागेकोमा प्राविधिक रुपमा सम्भव भएको देखाएको राजधानी दैनिकमा खबर छ ।

बिजुलीको बिल तिर्न घण्टौ टाढा जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि अत्यावश्यक मानिएको जुनसुकै ठाउँबाट रिचार्ज कार्डमार्फत बिल तिर्न सक्ने गरी दुई वर्षअघि प्राधिकरणले छुट्टै रिचार्ज कार्डमार्फत सेवा दिन सक्ने गरी प्रक्रिया अघि बढाएको थियो । सो गर्दा झन्झटिलो हुने भन्दै प्राधिकरणले टेलिकमकै रिचार्ज कार्डबाट सम्भव भए अझ प्रभावकारी हुने उल्लेख गर्दै पत्र पठाएको थियो ।

कार्यविधि र यसका लागि आवश्यक हार्डवेयर सफ्टवेयरको प्रबन्ध गरेपछि विद्युत प्राधिकरण सञ्चालक समितिबाट पारित गरी बिजुलीको बिल रिचार्ज कार्डमार्फत तिर्न सक्ने गरी सेवा विस्तार गर्ने प्राधिकरणको लक्ष्य छ ।