विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गर्ने

साउन १६, काठमाण्डौ-संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गर्ने भएको छ ।

संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई संयोजक रहनु भएको विशेष समितिले शिर्ष नेतृत्वसँग छलफल गरी आजै टुङगोमा पुग्ने  जनाएको छ ।
शीर्ष नेताहरु रहेको विशेष समिति र विशेष कार्यदलले हिजो केही विषयमा सैद्धान्तिक सहमति गरेका थिए । आज बिहानदेखि निरन्तर छलफल गरेर दिउँसो ३ बजेसम्म एउटा टुङ्गोमा पुग्ने कार्यदलका संयोजक एमाले नेता भीम रावलले जानकारी दिनुभयो । दलहरुको सहमतिपछि संविधानसभाको अबको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन बुझाउने छ । संविधानसभाले संवाद समितिलाई चार दिनको समय दिएर संविधानमा समावेश गर्ने विषय समेटेर परिमार्जित प्रतिवेदन तयार पार्ने जिम्मा दिएको थियो ।
बिहान शीर्ष नेताको बैठकमा भएको सहमति अनुसार दिउँसो दिउँसो बस्ने समितिको बैठकमा प्रतिवेदन पेस गर्ने तयारी छ । कार्यदलले हिजो प्रतिवेदन बुझाएको र आज त्यसका आधारमा थप छलफल हुने रावलको भनाई छ । धर्म निरपेक्षाताको ब्याख्या, वडा अध्यक्षको प्रत्यक्ष निर्वाचन, नागरिकता लगायतका विषयमा दलहरु सहमतिको नजिक छन् ।