नेपाल–चीन कूटनीतिक सम्बन्ध आजदेखि ६० औँ वर्षमा प्रवेश

साउन १६, काठमाण्डौ-नेपाल–चीन कूटनीतिक सम्बन्ध आजदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । कूटनीतिकस्तरमा द्विपक्षीय दौंत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशका अवसरमा दुवै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बेग्लाबेग्लै बधाई सन्देश जारी गरी एकआपसमा शुभकामना एवम् बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति डा रामवरण यादवले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई बधाई सन्देश पठाउँदै पञ्चशीलका सिद्धान्तले द्विपक्षीय सम्बन्धमा शान्तिपूर्ण सहअस्तित्वका मजबुत आधार उपलब्ध गारएको बताउनुभएको छ । ‘एक चीन नीति’ प्रति नेपालको सम्मान रहेको बताउँदै सन्देशमा उहाँले नेपाली जनताले चिनियाँ नागरिकलाई सच्चा र विश्वसनीय मित्रका रुपमा उच्च सम्मान गरेका उल्लेख गर्नुभएको छ ।

हालैको भूकम्पका बेला चिनियाँ जनताबाट त्यस्तो मैत्रीको उत्कृष्ट प्रदर्शन भएको बताउँदै सन्देशमा राष्ट्रपति यादवले बितेका छ दशकमा चीनले हासिल गरेको प्रभावपूर्ण सामाजिक–आर्थिक प्रगतिप्रति हर्ष प्रकट गर्नुभएको छ । सन्देशमा उहाँले स्नेहशील चीनका जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना पनि गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी रामबरण यादवलाई पठाउनुभएको बधाई सन्देशमा चीन र नेपाल–चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन् भन्दै बितेका ६० वर्षमा द्विपक्षीय सम्बन्ध निरन्तर परिपक्क भइरहेको बताउनुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङलाई पठाउनुभएको बधाई सन्देशमा नेपाल–चीन सम्बन्ध आपसी लाभका निम्ति पारस्परिक सम्मान, समझदारी, विश्वास र मैत्रीबाट परिपोषित, सङ्गठित र सुदृढ भएको बताउनुभएको छ ।