अपडेट : कास्की र म्याग्दीमा बाढीपहिरोमा परि २९ को मृत्यु

साउन १४,कास्की – अविरल वर्षासँगै खसेको पहिरोमा परी कास्कीमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । लुम्ले-६ माझघरमा १६ र फेवातालबाट पश्चिम पर्ने भदौरे तामागी ५ डुडाफाँटमा ५ जनाको र ढिकरपोखरीमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १८ जना घाइते छन् भने ६ जना वेपत्ता छन् । पश्चिम क्षेत्रीय अस्पतालसँगै पोखराका बिभिन्न अस्पतालमा उपचारार्थ भर्ना गरिएमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

फेवातालको मुल स्रोत हर्पन खोलामा आएको बाढीले पामे र भदौरे-तामागी जोड्ने पुल बगाएको छ भने बिभिन्न स्थानमा पहिरोले बाटो र बस्ती बिगारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौरे तामागीमा मृत्यु हुनेमा टीकाराम बिक (६५ वर्ष), रामकुमारी बिक (५५), गौरी पराजुली(३१), करण पराजुली (७), नन्दकला पराजुली (६५) छन् ।

यसैगरी लुम्ले ६ मा मृत्यु हुनेमा अर्जुन गुरुङ(१०), रत्ना पौडेल (७०), बसन्त बिक (८४), चिजा बिक (३२), संझना बिक(१४), सलिना बिक(१०), सुनिल बिक (९), मंजु सुनार(२६), उनको ३ महिनाकी छोरी, सुनकुमारी जिसी (३२), सुगम जिसी (१०) संगम जिसी(५), छिरिङ राई(५६) र सोही ठाउँका छिरिङ राईकी श्रीमती छन् ।

दुवैतर्फका घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरी उद्धारमा खटिएको छ । म्याग्दीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

म्याग्दी-बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो ।

पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ ।

स्थानीय बुद्धिविकास माध्यामिक विद्यालय मुदीका प्रध्यानअध्यापक जगबहादुर किसानले टेलिफोनमा दिएको जानकारीअनुसार पहिरोमा पुरिएर कम्तीमा एक सय बाख्रा र ५० बढी भैसी र गाई पनि मरेका छन ।