मस्यौदा परिमार्जन गर्न उच्चस्तरीय कार्यदल

साउन १४, काठमाडौ – – संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सुझावहरुलाई के कसरी समेट्न सकिन्छ भन्ने विषयमा निर्क्यौल गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले उच्च स्तरीय कार्यदल गठन गर्ने भएको छ ।

समिति सभापति बाबुराम भट्टराईको संयोजकत्वमा प्रमुख चार दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेता रहेको कार्यदल गठन गरिने नेताहरुबीच समझदारी बनेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिए ।

मस्यौदामाथि जनताको सुझाव सहितको प्रतिवेदन संविधानसभाले समितिमा पठाएको छ । समितिले त्यसमाथि बिहीबारबाट छलफल थालेको हो । जनताको सुझाव र मस्यौदामाथि असहमत दलहरुको मुद्दालाई कसरी समेटेर मस्यौदालाई परिमार्जन गर्ने बारे कार्यदलले छलफल गर्ने पोखरेलले बताए । संविधानसभाले चार दिनभित्र सहमतिको प्रतिवेदन पेस गर्न समितिलाई समय दिएको छ । नेताहरुबीच कार्यदल गठन गर्ने समझदारीपछि केही बेरका लागि ब्रेक गरिएको समितिको बैठक बस्न लागेको छ ।