सुन चार वर्षकै सस्तो, बजारमा सुनको अभाव

साउन १२, काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा आएको उच्च गिरावट र नेपालमा भन्सार दर घटेपछि सुनको भाउ चार वर्षयताकै सस्तो भएको छ । तर, उपभोक्ताले किन्न पाएका छैनन् । बजारमा सुनको कृत्रिम अभाव छ ।

बैंक र व्यवसायी बजारमा सुन अभाव हुनुको दोष एक–अर्कालाई लगाइरहेका छन् । बैंकले सुन बिक्री गर्न नमानेको आरोप सुनचाँदी व्यवसायीको छ । तर, बैंकहरूले भने नियमित रूपमा व्यवसायीलाई ढिक्का सुन बिक्री गरिरहेको दाबी गरेका छन् । उपभोक्ता भने मारमा छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ४८ हजार रुपैयाँ तोकेको थियो । तर, बैंकरले प्रतितोला ४८ हजार चार सय रुपैयाँमा मात्रै उपलब्ध गराउन सक्ने बताएपछि व्यवसायीले सुन खरिद नगरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।
‘व्यवसायीले गएको चार दिनदेखि बैंकबाट सुन उठाउन सकेका छैनन्,’ उनले भने, ‘यसले गर्दा बजारमा सुनको अभाव देखिएको हो ।’
भन्सारदर र भाउ एकैचोटि घटेका कारण बैंकले आफूसँग मौज्दात सुन बिक्री गर्न नमानेको अध्यक्ष शाक्यले बताए ।
‘भाउ घट्नुअघि आयात भएको सुन बैंकले आफूलाई नाफा कम हुने भएपछि बिक्री गर्न नमानेका हुन्, यसले गर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।