मस्यौदा परिमार्जन गर्ने तयारीमा दलहरू

साउन १२, काठमाडौँ – संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गर्न प्रमुख दलहरूबीच विषय केन्द्रित छलफल सुरु भएको छ ।

प्रमुख चार दलका सचेतकले जनताले सुझाएका महत्त्वपूर्ण विषय पहिचान गरी नेताहरूलाई सोमबार ‘ब्रिफिङ’ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रमुख सचेतकहरूले शासकीय स्वरूप, संघीयता, नागरिकता, धर्म, व्यवस्थापिकाको आकार, निर्वाचन प्रणालीलगायत प्रमुख विषयमा सर्वसाधारणबाट आएका सुझाव पेस गरेका हुन् ।
उनीहरूको ब्रिफिङअनुसार कसरी अघि बढ्ने भन्ने निर्णय गर्न मंगलबार चार दलका शीर्ष नेताहरूबीच छलफल हुने तय भएको छ । दुई दिनअघि बसेको बैठकले जनताका प्रमुख चासोका सुझावहरू अध्ययन गर्न प्रमुख सचेतहरूलाई जिम्मेवारी दिइएको थियो । ‘आएका सुझावलाई कसरी कहाँ/कहाँ समेट्ने भन्नेबारे दलहरूबीच छलफल सुरु भएको छ,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले भने ।
एमाले प्रमुख सचेतक अग्नि खरेलले मुख्य–मुख्य विषयका सुझावलाई जस्ताको तस्तै नेताहरूलाई जानकारी दिएको बताए । ‘मुख्य–मुख्य विषयमा कस्ता धारणा आएका छन्, त्यसबारे हामीले जानकारी दिएका छौं,’ उनले भने, ‘अब नेताहरू नै बसेर छलफल गरी टुंग्याउनु हुनेछ ।’
मस्यौदामा सुधारिएको संसदीय व्यवस्था प्रस्तावित भए पनि बढी सुझाव प्रत्यक्ष निर्वाचित कार्यकारी पद्धति हुनुपर्ने सुझाव आएको जानकारी प्रमुख सचेतकहरूले नेताहरूलाई गराएका थिए । दुवै खालका विचारहरू आएको जानकारी सचेतकले दिएका छन् ।
सर्वसाधारणबाट धर्मनिरपेक्ष राख्ने/नराख्ने वा धार्मिक स्वतन्त्रता शब्द प्रयोग गर्ने या धर्मबारे केही उल्लेख नै नगर्नेलगायत सुझाव आएका छन् । त्यसबारे पनि सचेतकले निर्णयमा पुग्न जरुरी रहेको भन्दै सुझाव पेस गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।