पाण्डेलाई कानुनविपरीत आममाफी

साउन १२, काठमाडौँ – सरकारले कानुनविपरीत भ्रष्टाचारको मुद्दामा जेल परेका उद्योगी प्रदिपजंग पाण्डेलाई कानुनविपरीत बाँकी कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामवरण यादवले सोमबार पाण्डेसहित २१ जनाको बाँकी कैद सजाय माफी दिएका हुन् ।

सरकारले बनाएको ‘मुद्दा, माफी मिनाहा गर्दा अपनाउनुपर्ने मापदण्ड’ मा भ्रष्टाचारको मुद्दामा कैज सजाय माफी दिन नसकिने व्यवस्था गरेको छ । सरकारले आफैंले बनाएको कानुन र मापदण्ड मिचेर भ्रष्टाचार मुद्दामा पाण्डेको बाँकी कैद सजाय माफी दिएको हो ।
मापदण्डमा भ्रष्टाचार, मानवताविरुद्धको अपराध, भ्रष्टाचार, ठगी, राहदानी किर्ते, चेलीबेटी बेचबिखन, लागू औषध, संगठित अपराधमा कैद सजाय माफी दिन नसकिने प्रस्ट व्यवस्था गरिएको छ । गृह मन्त्रालयले पाण्डेलाई माफी दिन मन्त्रिपरिषदमा प्रस्ताव लाँदा कानुन मन्त्रालयको राय सुझावसमेत लिएको छैन ।
मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले पाण्डेसहित २१ जनालाई माफी सम्बन्धी निर्णय गरि राष्ट्रपति कार्यालय पठाएको थियो । राष्ट्रपति रामबरण यादवले सोमबार त्यसलाई स्वीकृत गरेका हुन् ।
‘नेपालको अन्तरिम संविधान २०६३ को धारा १ सय ५६ बमोजिम मन्त्रीपरिषदको सिफारिसमा विभिन्न जिल्ला अदालतबाट २१ जना व्यक्तिहरुलाई भएको सजाय तथा जरिवाना एवम् भुक्तान हुन बाँकी सजाय तथा जरिवाना माफी भएकाले यो विज्ञप्ती प्रकासन गरिएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । २१ जनाको नाम भने खुलाइएको छैन । राष्ट्रपति कार्यालय तथा गृह स्रोतले उद्योगी पाण्डेको मिनाहा भएको भने पुष्टि गरेको छ ।