वैदेशिक रोजगार व्यवसायीको आन्दोलन फिर्ता

साउन १०, काठमाडौं – वैदेशिक रोजगारीमा जानेका लागि सरकारले लागू गरेको निःशुल्क भिसा र टिकटका विरोधमा आन्दोलनरत वैदेशिक रोजगार व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

गएराती सरकारसँग भएको ३१ बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । आजदेखि काम सुरु गर्ने व्यवसायीहरुले बताएका छन् ।सहमति भएसँगै आजदेखि मेनपावर कार्यालयहरु खुल्ने भएका छन् ।
सहमतिअनुसार अब तीन महिनाका लागि परीक्षणका रुपमा निःशुल्क भिसा र टिकटको प्रावधानलाई मेनपावर व्यवसायीहरुले स्विकार्ने छन् । फ्रि भिसा र टिकटमा कामदार विदेश गएकाहरु व्यवसायीको कमजोरीका कारण अलपत्र परे व्यवसायीले नै नेपाल झिकाउनुपर्ने र कामदारका व्यक्तिगत कारण भए कामदार स्वयंले नै लागेको खर्च तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको छ ।
सरकारी निर्णयबारे अध्ययन गर्न एक कार्यदल पनि गठन गरिने भएको छ । कार्यदलले खाडी मुलुकका ६ देश र मलेसियामा स्थलगत भ्रमण गरेर प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन अनुसार तीन महिनापछि फ्री भिसा र फ्री टिकटको सरकारी निर्णय कार्यान्वयन हुने र नहुनेबारे टुंगो लाग्ने बताइएको छ ।
सरकारले असार २१ गतेदेखि खाडीका ६ र मलेसिया गरी ७ देशमा फ्री भिसा र टिकटको प्रावधान लागू गरेपछि मेनपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।