राजेन्द्र र एलिनालाई उपाधि

साउन १०, काठमाडौं – नेपाल आर्मी क्लबका राजेन्द्र कपालीले शनिबार नेपाल नम्बर वान तथा राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबका दीप साउनलाई फाइनलमा सोझो सेटमा ११–९, ११–३, ११–९, १३–११ ले हराएर रष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष एकल च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा महर्जन दिदीबहिनीबीच भएको महिला एकल उपाधि भिडन्तमा दिदी एलिनाले बहिनी एरिकालाई १५–१३, ११–६, १२–१०, १०–१२ र ११–७ ले पराजित गरिन् ।
अन्तिम दिन कपुर शर्माले इन्द्रशेखर खड्कालाई १०–१२, ११–९, ११–६, १३–११ ले निराश बनाएर भेट्रान्स ४० वर्षमाथि विधामा उपाधि जिते । भेटरान्स ५० वर्षभन्दा माथिको इभेन्टमा उदयमोहन श्रेष्ठ पहिलो भए । उनले फाइनलमा जगदीश्वरप्रसाद जोशीलाई ११–८, ११–१३, ११–९ र ११–९ ले पन्छाए । महिला भेटरान्समा हिरा नकर्मी विजेता र सिमिजु अकिको उपविजेता बने । यो विधामा विजेताको छिनोफानो लिग चरणबाट गरिएको थियो ।
बहिरा पुरुष एकल फाइनलमा राहुल यादवले सुन्दर कार्कीलाई सजिलै ११–६, ११–७ र सोही इभेन्टको महिला एकलमा संगिता बस्नेतले शारदा थापालाई ११–७, ११–९ ले हराए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले पुरस्कृत गरे ।
भूकम्प पीडित राष्ट्रिय टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित पाँचदिने प्रतियोगितामा विभिन्न १३ स्पर्धामा १ सय ५५ खेलाडी सहभागी थिए । सो अवसरमा आयोजकका अध्यक्ष धर्ममान वज्राचार्यले टेबलटेनिस खेलाडीको प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको व्यवस्थाका लागि ओलम्पिक कमिटीसंग आग्रह गरेका थिए ।
सोही अवसरमा उच्च शिक्षाका लागि अस्ट्रेलिया जान लागेका राष्ट्रिय टेबलटेनिस खेलाडी अजय सुवाललाई पनि बिदाइ गरिएको थियो ।