हिनामिना गरिएको यार्साको राजस्व असुली

साउन १०, मुगु – जिल्ला प्रशासन कार्यालयले हिनामिना भएको यार्सागुम्बाको राजस्व असुली गरेको छ ।पूर्वी करान भेगको पाटन क्षेत्रमा यार्सा संकलक टोलीबाट उठाइएको करिब ७५ लाख मध्ये ६० लाख हिनामिना भएकोमध्ये प्रशासनले ३० लाख असुल गरेको छ ।

यार्साको राजश्व हिनामिनाबारे अख्तियारले समेत चासो देखाएपछि संकलन टोली संयोजक सचिव मक्कर रावललाई प्रशासनमै बोलाएर सोधपुछ गरी ३० लाख असुल गरेको प्रजिअ शम्भु प्रसाद रेग्मीले बताए ।

पाटन क्षेत्रमा यार्सा टिप्न जाने स्थानीयबाट करिब ७५ लाख राजस्व उठेको भएपनि १५ लाख जिविसको खातामा जम्मा भएको र बाँकी ६० लाख हिनामिना हुँदा अख्तियारले चासो देखाएपछि प्रशासनलाई दवाब परेको हो । गत वर्ष यार्सा संकलकबाट १ करोड ८ हजार राजस्व संकलन भएपनि जिविसमा २० लाख मात्र आएको थियो ।