व्यापारी अपहरणमा संलग्न एक महिला पक्राउ

साउन १०, झापा- झापाको बिर्तामोडका अलैँची व्यवसायी सुनिलकुमार विन्दलको अपहरणमा संलग्न एक महिला ६ महिनापछि आज पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा धरमपुर–४ निवासी २३ वर्षीया वुनु भनिने सुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरीको विशेष टोलीले इटहरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

गत माघ १८ गते आफ्नै साथी बज्रङ्ग पन्सासीसहित ६ जना मिलेर उनलाई मोटो रकम फिरौती माग गर्दै अपहरण गरेका थिए । अपहरणमा परेका व्यापारी विन्दललाई प्रहरीले पाँच दिनपछि झापाको धरमपुरबाट सकुशल उद्धार गरेको थियो । यसअघि प्रहरीले अपहरणमा संलग्न पाँचजनालाई गत माघ २३ गते पक्राउ गरेको थियो । रासस