राजधानी लगायतको जनजीवन प्रभावित

साउन ८, काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण विहानैदेखि राजधानी लगायतको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण प्रहरीले काठमाडौ उपत्यकामा प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । प्रहरीले विहानैदेखि जर्बजस्ती यातायात बन्द गराउँदै हिड्ने विप्लव माओवादीका नेता कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
बन्द गराउँदै हिड्ने क्रममा माओवादी पोलिटब्युरो सदस्य तिलक परियार, केन्द्रिीय सदस्य चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । परियारलाई बानेश्वरबाट र रसाइलीलाई कोटेश्वरबाट पक्राउ गरिएको अखिल क्रान्तिकारीका महासचिव खगेश्वर केसीले बताए ।
बन्दकर्ताहरुले विहान महाराजगञ्ज चोकमा डिलक्स बस तोडफोड गरिदिएका छन् । बन्दकर्ताहरु काठमाडौको बनस्थली तथा कलंकी चोकमा प्रदर्शन गरिरहेका छन् ।
यसैविच बन्दले पोखराको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरू बिहानै चोकमा निस्केर सवारी साधन किन कुदाएको भन्दै सोधपुच गर्नथालेपछि बन्दको प्रभाव बढेको हो । सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।