एक दिवसीय क्रिकेटका लागि नेपाली टोलीमा परिबर्तन

साउन ५,काठमाडौँ – विश्वकप ट्वेन्टी ट्वेन्टी छनौटमा नेपालले खराब प्रदर्शन गरेपछि सर्वत्र आलोचित भएपछि प्रशिक्षक पुबुदु दासानायकेले एक दिवसीय खेलका लागि टोलीमा केहि परिवर्तन गरेका छन् । टोलीमा विकेटकिपर ब्याट्सम्यान महेश क्षेत्री, अलराउण्डर पृथु बास्कोटा र तीब्र गतिका बलर अभिनाष कर्णलाई राखिएको छ ।जसमध्ये क्षेत्री र बास्कोटा हाल इंग्लण्डमा क्लव क्रिकेट खेलिरहेका छन् । यसअघि वन डेका लागि १५ सदस्यीय टोलीमा नपरेका सिद्धान्त लोहनीलाईसमेत स्कटल्याण्ड लगिने छ । उनले जर्सी बिरुद्दको आफ्नो डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हाल राष्ट्रिय टोलीमा रहेका विकेटकिपर सुभाष खकुरेल तथा ब्याट्सम्यान विनोद भण्डारीलाई एक दिवसीय टोलीबाट हटाइएको छ । चोटका कारण सागर पुन पनि टोलीमा परेनन् ।

नेपालले खेल्न लागेको विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलका लागि टोलीमा केहि हेरफेर गरिएको हो । यही साउन १३ र १५ गते हुने दुबै खेल स्कटल्याण्डमा हुनेछ । एक दिवसीय ढाँचाको यो प्रतियोगिता नेपाललाई डिभिजन वानमा पुर्‍याउन निकै महत्वपूर्ण रहेको छ ।