अमेरिकामा ५४ वर्षपछि पहिलो पटक क्यूवाको झण्डा

साउन ५, काठमाडौँ – अमेरिकामा ५४ वर्षपछि पहिलो पटक क्यूवाको झण्डा फहराएको छ । अमेरिका र क्यूवाले कुटनीतिक सम्बन्ध पुनस्र्थापना गरेसँगै अमेरिकामा क्यूवाको झण्डा फहराउन थालेको हो ।

अमेरिकामा क्यूवाको दुतावास खुलेकोमा वाशिंटनमा एक औपचारिक कार्यक्रम आयोजना गरियो । क्यूवाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजको उपस्थितीमा दुतावास भवनमा क्यूवाको झण्डा फहराइँदा क्यूवाली नेता फिडेल क्यास्ट्रोका समर्थकले खुशीयालीमा नारा लगाएका थिए ।
अमेरिकी विदेशमन्त्री जोन केरीले आगामी महिना क्यूवामा आयोजना हुने यस्तै एक औपचारिक कार्यक्रमका सहभागिता जनाउने छन् । सो कार्यक्रम क्यूवामा अमेरिकी दुतावास खोल्न आयोजना हुने जनाइएको छ ।
गत डिसेम्बरमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्यूवाका राष्ट्रपति राउल क्यास्ट्रोको ऐतिहासिक घोषणासँगै यी दुई देशबीच कुटनीतिक सम्बन्ध पुनः सुरु भएको हो ।
फिडेल क्यास्ट्रोको अगुवाईमा क्यूवामा भएको क्रान्तिसँगै सन् १९६१ मा दुई देशबीच कुटनीतिक सम्बन्ध बिच्छेद भएको थियो । जसअनुसार अमेरिकाले क्यूवासँग कुनै प्रकारको लेनदेनमा प्रतिबन्ध लगाउँदै आएको थियो ।