नयाँ बन्ने संविधानको मस्यौदामा सुझाव संकलनको काम आज पनि जारी

साउन ५ , काठमाडौं – नयाँ बन्ने संविधानको मस्यौदामा सुझाव संकलनको काम आज पनि जारी हुँदैछ । मुलुकको २ सय ४० वटै निर्वाचन क्षेत्रमा मस्यौदा माथि आमनागरीकले आज पनि आ—आफ्नो सुझाब राख्दै छन् ।

प्रत्येकनिर्वाचन क्षेत्रमा आफैले निर्वाचित गरेका सभासदको सहभागितामा आम नागरीकले हिजो र आज सुझाब राख्ने मौका पाएका हुन । सुझाव संकलनका लागि राजधानीमा आयोजना गरिएका भेलामा अधिकांशले प्रदेश संख्या, राष्ट्रपतिको निर्वाचन, धर्म निरपेक्षता, न्यायपालिकाको अधिकार क्षेत्र लगायतका विषयमा परिमार्जन गर्न सुझाव दिएका छन्।
दलहरूले लामो विवादपछि आठ प्रदेशमा सहमति गरे पनि सुझाव दिने राजधानीका अधिकांशले ५ वटाभन्दा बढी प्रदेश नबनाउन सुझाव दिएका छन्। लिखित र मौखिक सुझाव दिने करिब चार सयमध्ये अधिकांशले प्रदेशको संख्या बढी हुँदा प्रशासनिक खर्च बढ्ने बताएका छन्। केहीले संघीयतालाई जनमतसंग्रहबाटै टुंगो लगाउन पनि सुझाव दिए।
यस्तै, उच्च अधिकारीको शैक्षिक योग्यता तोक्न, धर्म्निरपेक्षताको साटो धर्मिक स्वतन्त्रता राख्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न, प्रदेश प्रमुखलाई समेत महाअभियोग लगाउन सक्ने प्रावधान राख्न र प्रधानसेनापतिलाई सुरक्षा परिषदमा राख्न सुझाव आएको छ।
संविधानसभाको सिफारिसमा सरकारले सुझाब संकलनका लागी हिजो र आज दुई दिन सार्वजनिक बिदा समेत दिएको छ । संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा साउन ७ गतेभित्र जनताको राय सुझाव संकलन गरी प्रतिवेदन संविधानसभामा पेश हुनेछ ।