सुझाव संकलनमा जताततै अवरोध

साउन ४, काठमाडौँ – संविधानको प्रारम्भिक मस्यौदामाथि देशभर जनताको राय सुझाव संकलन भइरहँदा अवरोध गर्ने क्रम पनि बढ्दो छ । सोमबार बिहानैदेखि विभिन्न स्थानमा झडपलगायतका हिंसात्मक गतिविधि भएका छन् ।

हिन्दु राष्ट्रको माग गर्दै आएको राप्रपा नेपालले देशभर मस्यौदामाथिको राय सुझाव संकलनमा अवरोध गर्ने घोषणा नै गरेको छ । सोही क्रममा राप्रपा नेपालका कार्यकर्ताले सोमबार राजधानीलगायत देशका विभिन्न भागमा मस्यौदा संकलन कार्यक्रममा अवरोध गरेका छन् ।
बिहान राजधानीको दशरथ रंगशालामा आयोजित रायसुझाव संकलन कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा च्यात्ने, जलाउने तथा नाराबाजी गर्दै अवरोध सिर्जना गरेका थिए । लगत्तै विजय मेमोरियल स्कूलमा आयोजित कार्यक्रममा पनि सो दलका कार्यकर्ताले नाराबाजीसहित बिथोल्ने प्रयास गरे । यद्यपी कडा सुरक्षाबीच मस्यौदा संकलन भएको स्थानीय प्रशासनले जनाएको छ ।
कीर्तिपुरको पाँगामा वैद्य माओवादीका कार्यकर्ताले प्रस्तावित मस्यौदा खोस्ने र जलाउने कार्य गरेका छन् । उनीहरुले चार दलीय सहमतिका आधारमा संविधान जारी गर्ने प्रयास भएको भन्दै विरोध जनाएका हुन् ।
उता, रौतहट सदरमुकाम गौरमा पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी कार्यक्रमस्थलमा झडप भएको छ । मधेसवादी दलका कार्यकर्ताले एमाले नेता नेपाललाई लक्षित गर्दै कुर्सी प्रहार गरे भने उनको मोटरसमेत तोडफोड गरिएको छ ।
झडप बढेपछि कार्यक्रमको औपचारिकता पुरा गर्दै छोटो समयमै एमाले नेता नेपाल गौरबाट बाहिरिएका थिए ।
महोत्तरीमा पनि मधेसवादी दलका कार्यकर्ताले मस्यौदामाथि राय सुझाव संकलन कार्यक्रममा अवरोध गरेका छन् । सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रममा मधेसवादी दलका कार्यकर्ताले अवरोध गरेका हुन् । उनीहरुले माइक तोडफोड गर्नुका साथै नाराबाजी गर्दै कार्यक्रम बिथोलेका छन् ।