भदौदेखि विद्युतीय शव दाहगृह

साउन ४, काठमाडौँ – पशुपतिनाथ परिसरमा निर्माणाधीन विद्युतीय शव दाहगृह भदौदेखि सञ्चालनमा आउने भएको छ । अहिलेसम्म वैदिक विधिअनुसार भष्मेश्वरघाट र आर्यघाटमा दाउराबाट शव जलाइँदै आएकामा अब विद्युतीय शव दाहगृह एउटा विकल्प हुनेछ । गुरुयोजना बनेको करिब २८ वर्षपछि तिलगंगा पुल नजिकै शव दाहगृह निर्माण भइरहेको हो । वि.सं. २०४४ मा तयार पारिएको गुरुयोजनाअनुसार शव दाहगृहका लागि ६ रोपनी जग्गा छुट्याइएको छ ।

पहिलो चरणमा शव दाहगृह निर्माण गर्न भारतबाट आयातित दुईटा मेसिन जडान गरिएको छ । तेस्रो मेसिन आउनेवाला छ । कोषले दुई मेसिन जडानलगायत अहिलेसम्मको खर्च करिब १३ करोड रुपैयाँ भएको जनाएको छ । शव दाहगृहमा ४५ मिनेटभित्र २ शव अन्त्येष्टि गर्न सकिन्छ ।

कोषका अनुसार आर्यघाट र भष्मेश्वर घाटमा दैनिक ३०–५० शवको अन्त्येष्टि गरिन्छ । जसका लागि ठूलो परिणाममा दाउरा चाहिन्छ । एउटा शव जलाउन करिब २ सय ५० केजी दाउरा चाहिन्छ । दैनिक ३० शवका दरले महिनामा करिब ७ हजार ५ सय केजी दाउरा जरुरी पर्छ ।

पाँच वर्षअघि विद्युतीय मेसिन ल्याउन कोलकाताको ‘इन्डोमेन इन्जिनियरिङ वर्कसप’ सँग कोषले सम्झौता गरेको थियो । २०४८ मा महानगरपालिकाले विष्णुमती र वाग्मतीमा एक–एकवटा शव दाहगृह स्थापना गर्ने निर्णय गरेको थियो । जसअनुसार विद्युतीय मेसिन जडान गरियो पनि । लामो समयसम्म भन्सारमा रोकिएकाले मेसिन जडान गर्दागर्दै बिग्रिएको महानगरको दाबी छ । तर धार्मिक आस्थाका कारण उक्त मेसिनमा कसैले पनि शव जलाउन रुचि देखाएनन् । करिब एक करोड रुपैयाँमा भित्र्याइएको त्यो मेसिन अहिलेसम्म महानगरको कार्यालयमा थन्किएको छ । कान्तिपुर