कर्मचारीको उमेर हद बढाइँदै

साउन ४, काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेरहद दुई वर्ष बढाउने तयारी गरेको छ । अहिले ५८ वर्ष उमेरहद छ । यसअघि ०४९ मा सरकारले कर्मचारीको उमेरहद ६० बाट घटाएर ५८ वर्ष बनाएको थियो ।

नेपालीको औसत आयु वृद्धि भएको र पेन्सेनेवल दायित्व पनि बढ्दै गएको भन्दै उमेदहद बढाउने तयारी गरिएको हो ।

सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रममा कर्मचारीको निवृत्तिभरणको दायित्व बढ्दै गएको र नेपालीको औसत आयु बढेर काम गर्न सक्ने उमेर बढ्दै गएकाले अनिवार्य अवकाशको उमेर पुनरावलोकन गरिने उल्लेख छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव बाबुराम अधिकारीले निजामती सेवा ऐनको पाँचौँ संशोधनमार्फत उमेरहद बढाउने गृहकार्य थालिएको बताए । मन्त्रालयले ऐन संशोधनका लागि आवश्यक छलफल थालेको छ । नयाँ पत्रिका