नेपालको ट्वेन्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता गुम्यो

साउन ४, काठमाडौँ – नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धीको रुपमा लिइएको ट्वेन्टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमेको छ ।

आयरल्याण्ड र स्कटल्याण्डमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपालको अन्तर्राष्ट्रिय हैसियत खोसिएको हो ।यसले नेपाली क्रिकेटलाई निकै ठूलो नोक्सानी पुर्‍याउने विज्ञहरु बताउँछन् ।
ट्वेन्टी–२० अन्तराष्ट्रिय हैसियत खोसिएपनि नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मूख्य बरीयतामा भने रहिरहनेछ ।
नेपालले अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न विश्वकप ट्वेन्टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले टि ट्वेन्टी अन्तर्राष्ट्रिय मुलुकको हैसियत दिएको थियो ।
आइसीसीले ट्वेन्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुने टोलीलाई मात्रै टि–ट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिने बताएको छ ।
नेपाल र नेदरल्याण्ड्ससँग टि–ट्वेन्टी अन्तर्राष्ट्रियको हैसियत मात्रै थियो ।
यसबाहेक ६ वटा एसोसिएट राष्ट्र स्कटल्याण्ड, आयरल्याण्ड, अफ्गानिस्तान, पपुवा न्युगिनी, हङकङ र युएईसँग एक दिवसीय क्रिकेट खेल्ने हैसियत छ ।
एक दिवसीय हैसियत पाउने टोलीले स्वतः ट्वेन्टी–२० अन्तर्राष्ट्रियको हैसियत पाउने गर्दछन् ।