सुझाब संकलनका लागि गएका माधव नेपालमाथि कुर्सी प्रहार

साउन ४, रौतहट – संबिधानको प्रारम्भिक मस्यौदामा सुझाब संकलन गर्न आफ्नो निर्बाचन क्षेत्र पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार भएको छ । रौतहट क्षेत्र नं. १ गौरस्थित नगरपालिकाको सभाहलमा नयाँ संविधानको मस्यौदामाथिको छलफलमा भाग लिइरहेको बेला उनीमाथि कुर्सी प्रहार भएको हो । अन्य सभासदमाथि पनि आक्रमणको प्रयास भएको जनाईएको छ। कार्यक्रममा सभासद माधवकुमार नेपाल, बंशिधर मिश्र,रामकुमार भट्टराई सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलम लगायतको सहभागिता थियो । बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै नेपाल सद्‍भावना पार्टीका कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका थिए।

प्रहरीले नेपाल सद्‍भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी प्रहार गरेको बताईएको छ । अहिले भित्र मस्यौदाको छलफल र बाहिर चर्को नाराबाजी भइरहेको छ । नेता नेपाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।