ओलीले चाहेमा सीमांकन सहितको संबिधान

साउन ३, काठमाडौं – हामीलाई सीमांकन गर्न अहिले पनि केही आपत्ति छैन, संविधान प्रक्रिया टुंग्याउन पछिल्लो समय सक्रिय मन्त्री महेश आचार्यले भने, ‘तर संघीयताबारे अझै द्विविधा राखिरहेको पक्षले सीमांकन गर्न ढिलाइ गरिरहेको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनी अन्तरिम संविधानले नै मार्गनिर्देशन गरिसक्दा पनि अझै कसले द्विविधा राखिरहेको होला ? यो जिज्ञासाको प्रस्ट जवाफ मन्त्री आचार्यले दिन मानेनन्, तर उनको घुमाउरो संकेत सत्तारू एमालेका अध्यक्ष केपी ओली र कांग्रेसकै केही नेताप्रति थियो ।
अझ ती नेता, जसले पछिल्लो समय सीमांकनका कारण सर्वाधिक विवादित पाँच जिल्ला रहेका विकास क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । यदि एमाले अध्यक्ष केपी ओली र ‘ती नेताहरू’ तयार भए एमाओवादी र केही मधेसवादी दललाई सीमांकनबारे मनाउन खासै गाह्रो नभएको मन्त्री आचार्यको संकेत थियो ।