बीमा कम्पनीको तिन महिनाको नाफा न्यून

साउन ३, काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले समयमै दावी भुक्तानी गर्न नसक्दा उनीहरुले ठुलो रकम प्रोभिजन गर्नुपर्ने भएको छ ।

भूकम्पपछि परेको ठुलो दावी बीमा कम्पनीहरुले समयमै भुक्तानी गर्न नसक्दा उनीहरुको नाफा रकम प्रोभिजन गर्नुपर्ने भएको हो ।
बीमा कम्पनीहरुले परेका कूल दावी मध्ये पुनर्बीमा कम्पनीले व्यहोर्ने बाहेक एकसय १५ प्रतिशत रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । उनीहरुले यसका लागि आफ्नो नाफाबाट नै पैसा कटाउनु पर्ने बीमा समितिले जनाएको छ ।
‘बीमा कम्पनीहरुमाथि दावीको ठुलो चाप छ, उनीहरुको साविक दावी भुक्तानी र भुकम्पपछि थपिएको ठुलो रकम तिर्नुपर्ने भएपनि त्यो सकेनन्,’ बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने, ‘त्यसकारण यो त्रैमासमा बीमा कम्पनीहरुले नाफा देखाउन सक्ने संभावना अत्यन्तै न्यून छ ।’
बीमा कम्पनीहरुले अहिलेसम्मको दावी भुक्तानी उनीहरुको जगेडा कोष तथा पुनर्बीमा कम्पनीबाट प्राप्त रकमबाट गरिरहेका छन् । उनीहरुले प्रोभिजन गर्दा जुन आर्थिक वर्षमा दावी परेको छ त्यसैमा गरेको आम्दानी तथा त्यसले नपुगे चुक्तापुँजीबाट गर्नुपर्ने भएकाले उनीहरुको नाफामा संकुनच देखा पर्ने पौडेलले बताए ।
बीमा कम्पनीहरुले अहिलेसम्म ठुला दावी भुक्तानी नगरेकाले उनीहरुमाथि प्रोभिजनको चाप अझै पर्ने उनले बताए । ‘अहिलेसम्म ठुलो दावी भुक्तानी भएको छैन,’ पौडेलले भने, ‘त्यसैले पनि उनीहरुले नाफा देखाउन सक्ने अवस्था रहन्छ जस्तो मलाई लाग्दैन ।’ एकदुई वटा बीमा कम्पनीले नाफा देखाउन सकेपनि अधिकांशले नाफा गर्न नसक्ने उनले बताए ।
बीमक संघ नेपालका अध्यक्ष विजयबहादुर शाहले पनि गत आर्थिक वर्षको अन्तिम त्रैमासमा बीमा कम्पनीहरुको नाफामा संकुचन देखिने स्‍वीकार गरे । उनले पनि कुनै एक दुई कम्पनीले नाफा गर्न सकेपनि धेरैको अवस्था त्यस्तो नरहेको बताए ।
‘नियमअनुसार पुनर्बीमाले समेट्ने बाहेकको पोर्सनको हामीले प्रोभिजन गर्नैपर्छ,’ उनले भने, ‘यसले धेरै कम्पनीले नाफा कटाएर रकम प्रोभिजन गर्नुपर्ने भएकाले नाफा त स्वभाविक रुपमा नै घट्छ ।’ उनले कति रकम प्रोभिजन हुन्छ भन्ने कुरा अहिले नै यकिन रुपमा भन्न नसकिने बताए ।
शाहले सर्भेयरको रिपोर्ट समयमा नआएका कारण पनि दावी भुक्तानीमा केही ढिलाई भएको बताए । ‘हामीले त दावी भुक्तानी सकेसम्म छिट्टै गरिरहेकाछौं, पुनर्बीमाले पनि पर्याप्त पैसा दिएका छन्,’ उनले भने, ‘सर्भेयरको रिपोर्ट समयमै आएको छैन, यसले केही ढिलाई अवस्य भएको छ ।’
सर्भेयरको रिपोर्ट समयमै नआएको भन्दै बीमा कम्‍पनीहरुले भूकम्पपछिको दावीको पनि ११ प्रतिशत मात्रै भुक्तानी गरेका छन् । बीमा समितिका अनुसार अहिलेसम्म १६ अर्ब रुपैयाँको दावी परेको छ । तर बीमा कम्पनीहरुले एक अर्ब ८६ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन् ।
बीमा कम्पनीहरुले थोरै रकमको बीमा दावी भुक्तानी गरेपनि अझै ठुला दावी भुक्तानी गर्न सकेका छैनन् । त्यसैले पनि संख्यात्मक हिसाबमा दावी भुक्तानी धेरै देखिए पनि पैसा भने बढेको छैन ।
बीमा कम्पनीहरुले सर्भेयरको अन्तिम प्रतिवेदन नआउन्जेलका लागि पेश्की पनि दिन थालेका छन् । उनीहरुले अहिलेसम्म झण्डै ९० करोड रुपैयाँ पेश्की भुक्तानी गरिसकेका छन् ।