प्रचण्डसँग परराष्ट्रमन्त्री रुष्ट

साउन ३, काठमाडौँ – भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यहाँको उच्च नेतृत्वसँगको भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सहभागी नगराएपछि उच्च राजनीतिक नेतृत्वले पालना गर्नुपर्ने कूटनीतिक आचारसंहिताबारे नेपालमा बहस सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहसँग अलगअलग भेटे । तर ती कुनै भेटमा नेपाली राजदूत या दिल्लीस्थित नेपाली नियोगका प्रतिनिधिलाई सहभागी गराएनन् ।
‘ती भेटहरूअघि पूर्वप्रधानमन्त्रीज्यूसँग मेरो कुरा भएको थियो । उहाँले शान्तिप्रक्रियासँग जोडिएका कतिपय कुरामा म एक्लै भारतीय नेतृत्वसँग भेट्छु भन्नुभएअनुसार म सहभागी नभएको हुँ’, राजदूत उपाध्यायले नयाँदिल्लीबाट टेलिफोनमा भने ।
उपाध्यायले नेपालका राजनीतिक नेताहरूमा बिस्तारै सुधार आउन सक्ने भन्दै व्यंग्यसमेत कसे । सबै उच्चस्तरीय भेटमा दाहाल पत्नी सीता भने सहभागी थिइन् ।
उच्च भेटमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव एस जयशंकर, काठमाडौंस्थित भारतीय राजदूत रन्जित रे, भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरलगायत भारत सरकारका उच्च पदस्थ अधिकारी सहभागी थिए ।
भेटहरूपछि दाहालले राजदूत उपाध्यायसँग भेटबारे सामान्य चर्चा गरेका थिए । उपाध्यायका अनुसार दाहालले उच्च नेताहरूसँगको भेटपछि आफूलाई असहज भएको बताएका थिए ।