अब सबैलाई एकतामा बाँध्ने संविधान आउँछ : ओली

साउन २, काठमाण्डौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबैलाई एकतामा बाँध्ने संविधान आउने बताएका छन् ।बालकोटस्थित आफ्नै निवासमा शनिबार मानवीय आस्था नेपालले आयोजना गरेको कार्यक्रममा भूकम्पपीडितलाई जस्तापाता वितरण गर्दै उनले अब सबै मिलेर देश बनाउने अवसर आएको बताए ।

राजनीति जस्तो भयो देश निर्माण त्यस्तै हुने भएकाले राजनीतिलाई सुधार्दै लैजानुपर्छू उनले भने। विज्ञसँग बसेर योजनाबद्ध रुपमा विकास, पुनःनिर्माण एवम् पुनर्वासको व्यवस्था गरिने उनको भनाइ थियो ।
भूकम्पपछि एमालेले सरकार, नेपाली सेना र प्रहरीसँग मिलेर देशभर घरटहरा बनाउने अभियान सञ्चालन गरेको स्मरण गर्दै उनले एमालेले देशभर ३० हजार घर टहरा निर्माण, उद्धार तथा पीडितलाई राहत वितरण गर्ने कार्य गरेको बताए ।
कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले संविधान जारी भएपछि देशले गति लिने चर्चा गर्दै मानवीय आस्था नेपालले भूकम्पपछि पीडितलाई रु तीन करोड बराबरका एक हजार २०० वटा टहरा बनाउने एवम् राहत वितरणलगायत काम गरेको चर्चा गरे ।
आस्था नेपालका संरक्षकसमेत रहेका बस्नेतले भूकम्पमा परेर मृत्यु भएकाको सम्झनामा गाईजात्रा निकाल्नेदेखि स्मारक बनाउने काममा समेत संस्था जुटेको जानकारी दिए ।
काठमाडौँ स्कुल अफ लका निर्देशक डा युवराज सङ्ग्रौलाले भूकम्पमा नागरिकता, लालपुर्जालगायत कागजपत्र हराएका नागरिकलाई कानुनी परामर्श निःशुल्क परामर्श सेवा सुरु गरिएको बताए ।
त्यस अवसरमा एमाले अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले मानवीय आस्थाका लागि संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितलाई रु ५० हजार सहयोग हस्तान्तरण गरिन ।