नेप्सेमा १६ अङ्कको वृद्धि

साउन २, काठमाण्डौ – साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.२७ अङ्कले बढेर अन्तिम दिन ९६१.२३ अङ्कमा पुगेको छ । गत साता साताको परिसूचक ५.४१ अङ्कले बढेको थियो । यसै साता सरकारले आव २०७२÷७३ को बजेट सार्वजनिक गरेपछि पुँजी बजारमा सकारात्मक प्रभाव परेको हो । बजेटमा सरकारले यस आर्थिक वर्षमा नागरिक लगानी कोषलाई बजार प्रवद्र्धकका रुपमा विकास गर्ने उल्लेख गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता स्टक एक्सचेन्जमा १७२ कम्पनीको सात हजार ४४३ कारोबारबाट रु एक अर्ब ३२ करोड ४१ लाख ८३ हजार बराबरका ३४ लाख ९२ हजार १५० कित्ता सेयर खरिद बिक्री भएका छन् । nepse

कारोबार रकम गत साताकोभन्दा ३.१६ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको सात ४७९ कारोबारबाट रु एक अर्ब २८ करोड ३६ लाख २९ हजार बराबरका ३६ लाख ३८ हजार २७० कित्ता सेयर खरिद बिक्री भएका थिए । यो साता वाणिज्य बैंक समूहको परिसूचकमा १०.७६, विकास बैंक १६.०५, वित्त कम्पनीका ३.०९, होटल कम्पनी ४५.६८, जलविद्युत् क्षेत्रमा १२३.८८ र बिमा १७.७१ अङ्कले बढेको एक्सचेन्जमा उल्लेख छ । त्यसैगरी उत्पादनमूलक समूहको परिसूचकमा ६६.४२ र अन्य समूहको परिसूचकमा १८.७९ अङ्कले सुधार आएको छ भने व्यापार समूहको परिसूचकमा भने ७.०९ अङ्कले तल झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.५८ अङ्कले बढेर २०४.६७ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभु बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा पनि प्रभु बैंक अग्रस्थानमा रहेको छ । यो साता विराटलक्ष्मी विकास बैंकको १० लाख ५६ हजार ६१, जनरल फाइनान्सको तीन लाख ५२हजार ६०८, नेरुडे लखुवित्त विकास बैंकको दुई लाख ५० हजार, प्रभु इन्स्योरेन्सको दुई लाख १९ हजार २०७, मनास्लु विकास बैंक, एक लाख १७ हजार, रुरल माइक्रो फाइनान्सको पाँच लाख २० हजार, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी दुई लाख ६५ हजार ३४० कित्ता बोनस सेयर सूचीकृत भएका छन् भने नेको इन्स्योरेन्सको ११ लाख ३७ हजार ७८४ र मनास्लु विकास बैंकको तीन लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यस साता स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस