सभासदहरु २ सय ४० ओटै निर्वाचन क्षेत्रमा सुझाव संकलन गर्दै

साउन २, काठमाण्डौ – नयाँ संविधानको मस्यौदामा सभासदहरुले देशभरीका २ सय ४० ओटै निर्वाचन क्षेत्रमा सुझाव संकलन गर्दै छन्् । सभासदहरु नागरिकहरुको मत बुझ्न सभासदहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । संविधानसभाको निर्देशनअनुसार, सभासदहरुले साउन ४ र ५ गते सबै निर्वाचन क्षेत्रमा सुनुवाई गर्ने छन् । आज र भोलि छलफल, भलाकुसारी गर्ने र दुई दिन सार्वजनिक सुनुवाई गर्ने तयारी छ । संविधान जस्तो महत्वपूर्ण विषयमा सबै क्षेत्रका सरोकारवाला व्यक्तिहरुले आफ्नो रायसुझाव दिन सकुन् भनेर संविधानसभा सचिवालयको सिफारिसमा सरकारले २ दिन सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।

संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा साउन ७ गतेभित्र जनताको राय सुझाव संकलन गरी प्रतिवेदन संविधानसभामा पेश हुनेछ । असार २५ गतेदेखि नै सचिवालयका कर्मचारी मस्यौदा, त्यसको विशेषतासहितको कागजात लिएर सबै जिल्लामा पुगि आवश्यक तयारी गरीरहेका छन् । संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माका अनुसार गाउँ गाउँमा भोलिसम्म सर्वपक्षीय भेला गरेर सामुहिक छलफल हुनेछ । समयभित्र प्रतिवेदन तयार पार्न सुझाव समितिलाई कठिनाई हुने देखिएको छ ।