एमालेले बजेट पारित हुन नदिने

असार ३१, काठमाडौँ – नेकपा (एमाले) को स्थायी कमिटीको बिहिबारको बैठकले पार्टीका सरोकारका विषय सम्बोधन नभए बजेटको विपक्षमा प्रस्तुत हुने निर्णय गरेको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा रामशरण महतलाई बजेट तर्जुमा हुनुपूर्व दिइएका सुझाव समावेश नभएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यस विषयमा प्रधानन्त्री कोइराला र अर्थमन्त्री महतसँग आजै वार्ता गर्न सत्ता साझेदार एमालेले उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र प्रमुख सचेतक अग्निप्रसाद खरेल रहेको टोलीलाई जिम्मा दिएको छ । बैठकपछि एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको सुझाव अर्थमन्त्री महतले संसद्मा दिने जवाफमा समावेश गर्न तयार नभए तत्काल पार्टीको संसदीय दलको बैठक गरी आवश्यक निर्णय लिने बताए ।

के एमालेले बजेटको विपक्षमा मतदान गर्छ भन्ने पत्रकारको प्रश्नमा सचिव भट्टराईले भने – “एमाले सहमत नभएको बजेट पारित हुँदैन ।”

उनले विगतमा एमाले सहभागी सरकारले ल्याएका कतिपय राम्रा कार्यक्रम हटाइएको र पार्टीका शीर्ष नेताका कार्यक्रम समावेशका क्रममा पूर्वाग्रह राखिएको बताए । रासस