आज पनि वर्षाको सम्भावना

असार ३१, काठमाडौँ – अविरल वर्षाका कारण बर्दियाको विभिन्न गाउँ डुबानमा परेका छन् । अविरल वर्षाका कारण बर्दियाको विभिन्न नदी तथा खोलामा आएको बाढीले नेउलापुर गाविसको रानीपुर, भुरीगाउँ बजार, नेउलापुर, तीनझरुवा, मंग्रागढी तथा बग्नाह गाविस, सूर्यपटुवाको डल्ला, बनियाभार लगायत धेरै गाउँ डुबानमा परेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले एक सय भन्दा धेरै घर डुबानमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी टोली उद्धारको लागि बिहानैदेखि खटिएको छ । बाँके, दाङ, सुर्खेत लगायतका जिल्लामा अहिले पनि ठूलो पानी परिरहेका कारण विभिन्न नदीमा बाढी आउने संभावना भएकाले सतर्क हुन प्रमुख जिल्ला अधिकारी कुँवरले आग्रह गर्नुभएको छ ।

बबइ नदीमा अझै बाढी जाने संभावना भएकाले आसपासका क्षेत्रमा सतर्क रहन जल तथा मौसम विज्ञान विभागले पनि आग्रह गरेको छ । देशका अरु ठाउँमा पनि रातीदेखि पानी परिरहेको छ । ठूलो पानी परेको बेला बाढी पहिरोको खतरा हुने भएकाले सजक हुन मौसमविदले आग्रह गर्दै आएका छन् ।