आज कानुन व्यवसायीसँग छलफल गर्दै

असार ३१, काठमाडौँ –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानको मस्यौदामा राखिएको प्रावधानका विषयमा आज कानुन व्यवसायीसँग छलफल गर्दैछ । आफ्नो अधिकार कटौती गरिएको भन्दै लिखित सुझाव पेश गरेको आयोगले आज कानुन व्यववसायीसँग छलफल गर्न लागेको हो । मस्यौदामा ‘अख्तियारको काम कर्तव्य र अधिकार’ बारे गरिएको व्यवस्थामा अन्तरिम संविधानले दिँदै आएको अधिकारसमेत कटौती भएको आयोगले जनाएको छ ।

मस्यौदामा ‘कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ’ भन्ने उल्लेख छ । आफ्नो अधिकार गम्भीर ढंगले काटिन लागेको भन्दै अख्तियारले कम्तीमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिन संविधान सभालाई आग्रह गरेको हो ।

आज कानुन व्यवसायीसँग छलफल गरेपछि त्यस बारेमा थप धारणा बनाउने अख्तियारका प्रवक्ता कृष्णहरी पुस्करले जानकारी दिनुभयो । हिजो संविधानसभालाई लिखित सुझाव पेश गरिसकेको र आजको छलफलबाट फेरि पनि सुझाव जान सक्ने उहाँको भनाई छ । दलहरुले भने अख्तियारको अधिकार कटौती नगरेको तर प्रधानमन्त्री मातहतमा जिम्मेवार अर्को निकाय बनाउन खोजेको बताउनुभयो ।