भूकम्पले खासामा रोकिएका कन्टेनर काठमाडौं आईपुग्यो

असार २८, काठमाडौं –  वैशाख १२ को शक्तिशाली भूकम्पपछि चीनको सिमाना खासामा रोकिएका सयौं कन्टेनर सोमबार बिहान काठमाडौं आइपुगेका छन् ।

गर्मी मौसमका लागि चीनबाट ल्याइएका सामानसहित खासामै रोकिएकामध्ये करिब एक सय कन्टेनर शनिबार काठमाडौं भित्रेका थिए ।

दुर्इ महिनापछि कन्टेनर एकै पटक काठमाडौं आउँदा काठमाडौंको तीन कुनेदेखि सिनामंगलसम्मको सडक सोमबार बिहान १० बजेदेखि १ बजेसम्म ठप्प भयो ।

ती कन्टेनरमा भूकम्प अगाडि नै बच्चाका खेलौना, लुगा, जुत्ता, चप्पल र कस्मेटिक सामान लोड गरिएको छ । एकै पटक कन्टेनर आएपछि एयरपोर्ट भन्सार कार्यालय पनि भरिभराउ भएको छ ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले कन्टेनर आउने क्रम जारी रहेको जनाउँदै अब खासा भन्सारबाट हुने जाँचपास एयरपोर्ट भन्सारको कार्यालयबाट हुने जानकारी दिए ।
‘अर्को विकल्प नभएसम्म एयरपोर्ट भन्सारबाटै जाँच पासको व्यवस्था मिलाएका छौं’, ढुंगानाले भने, ‘खासामा रोकिएका कन्टेनर आउने क्रम केही जारी रहनेछ ।’

भूकम्पअघि सामान लिन पुगेका ५ सय बढी कन्टेनर खासामा रोकिएका थिए । त्यसैगरी लोड नगरिएको करिब ५ सय कन्टेनर सामान पनि भन्सारमा रोकिएको थियो ।