नेपाललाई आयरल्यान्डसँगै वर्षाको चुनौती

असार २८, काठमाडौ  –  ( नेपालले विश्व ट्वान्टी–२० छनोटमै सबैभन्दा ठूलो चुनौती सामना गर्दा दाबेदार आयरल्यान्ड सोमबार प्रतिद्वन्द्वीका रूपमा अगाडि हुनेछ। प्रारम्भिक चरणमै भए पनि समूह शीर्षताको महत्त्व बोकेको उक्त खेललाई वर्षाको पनि उत्तिकै खतरा छ। उत्तरी आयरल्यान्डमा अझै केही दिन मौसमको प्रभाव रहने अनुमान गरिएको छ।

आयोजक टिममाथि विजय हात पारे नेपाल फेरि समूह ‘ए’ को अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ। आयरल्यान्ड पहिलो २ खेलमा नामिबियालाई ७ विकेटले र आइतबार अमेरिकालाई ४६ रनले पराजित गरी शीर्षस्थानमा छ। नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। तर नामिबियासँग शनिबारको खेल वर्षाका कारण रद्द भएको थियो।

स्टोरमोन्टमा सोमबार पनि वर्षा हुने अनुमान गरिएको छ। प्रतियोगिताका खेलहरू वर्षाबाट प्रभावित रहँदै आएका छन्। नेपाल र ओमानको अभ्यास खेल वर्षाकै कारण रद्द भएको थियो। अमेरिकासँग नेपालको खेल सकिएको २० मिनेटपछि वर्षा भएको थियो। नेपाल र नामिबियाबीचको खेल ८ ओभर पनि पूरा हुन पाएको थिएन। नेपाल र आयरल्यान्डबीच सोमबार हुने खेल पनि वर्षाका कारण शंकाको घेरामा छ।

मौसम पूर्वानुमान गलत भएमा समूह ‘ए’ को सबैभन्दा ठूलो खेलमा नेपाल र आयरल्यान्डको प्रतिस्पर्धाले रोमाञ्चकता पाउनेछ। निश्चय पनि नेपालको यो सबैभन्दा ठूलो खेल हुनेछ। युरोप भ्रमणमा निस्किन अगाडि नेपाली टिमका प्रशिक्षक पुबुदु दसानायके र कप्तान पारस खड्काले

ट्वान्टी–२० विश्वकपमा छनोट हुने मात्र नभई नेपाली टिम छनोट प्रतियोगिता जित्ने लक्ष्यमा रहेको बताएका थिए।

‘आयरल्यान्ड यस समूहमा कठिन प्रतिद्वन्द्वी हो, तर हाम्रो लक्ष्य नम्बर एक टिम बन्नु हो,’ प्रशिक्षक दसानायकेले भने, ‘यस्तो अवस्थामा हामी कहाँ उभिएका छौं भन्ने थाहा पाउन यो राम्रो परीक्षा हो। उनीहरूलाई पराजित गर्न हामीले पूरै ४० ओभर स्तरीय क्रिकेट खेल्नुपर्नेछ।’ यसअघिका चार विश्व ट्वान्टी–२० खेलिसकेको आयरल्यान्ड प्रतियोगिता जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा छ। त्यही नेपाल लगातार दोस्रो पटक विश्व

ट्वान्टी–२० मा छनोट हुने दाउमा छ।

आयरल्यान्ड आक्रामक ब्याटिङको टिम हो। नील ओ’ब्राइन, पाउल स्टिरलिङ, विलियम पोटरफिल्ड, केभिन ओ’ब्राइन र एन्डी बालब्रिनबाहेक नेपालका लागि स्पिनर जर्ज डकरेल पनि चिन्ताको विषय हुन सक्छन्। सन् २०१२ को आईसीसी यू–१९ विश्वकपमा अस्ट्रेलियामा आयरल्यान्डसँग नेपाल १४ रनले पराजित हुँदा डकरेलले ४ विकेट लिंदै म्यान अफ द म्याच प्रदर्शन गरेका थिए। एसोसिएट टिमसँग नेपालको त्यो दुर्लभ हार थियो।

नेपाली राष्ट्रिय टिमले आयरल्यान्डसँग कुनै आधिकारिक खेल खेलेको छैन। गत वर्ष बंगलादेशमा विश्व ट्वान्टी–२० खेल्दा आयरल्यान्डले नेपाललाई ५ विकेटले पराजित गरेको थियो। समरसेटका प्रभावकारी खेलाडी डकरेलले फतुल्लाहमा पनि २ विकेट लिएका थिए। उत्तरी आयरल्यान्ड पुग्नुअघि नेपालले युरोप भ्रमणको तयारीमा इंग्ल्यान्डमा मिडलसेक्स ११ सँग अभ्यास खेल खेल्दा बालब्रिनले अर्धशतक बनाएका थिए।

त्यसको विपरीत नेपालको ब्याटिङ कप्तान पारस खडका, उपकप्तान, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरमै भर परिरहेको छ। ज्ञानेन्द्रले अमेरिकासँग शुक्रबार भएको ट्वान्टी–२० मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाएका थिए। त्यसपछि पारसले जिम्मेवारी इनिङ्स खेलेर नेपाललाई जिताएका थिए। ओपनिङ ब्याटिङमा फेरि नेपालको चिन्ता सुरु हुनेछ। सागर पुन पहिलो ओभरमै आउट हुने क्रम जारी छ। अनिल मण्डलले अमेरिकासँग ४२ बलमा २९ रन बनाई ज्ञानेन्द्रसँग कीर्तिमानी ७९ रन जोडेका थिए। नेपालले राम्रो चुनौती तेस्र्याउने हो भने आयरल्यान्डसँग अनिलले आफ्नो खेलको गति बढाउन आवश्यक छ।

बलिङमा नेपालको एउटै समस्या सोमपाल कामीको जोडीका रूपमा नयाँ बल कसलाई दिने भन्नेमा छ। विकेट लिइरहे पनि अमेरिकासँग करण केसीले २ ओभरमा २७ रन खर्चेका थिए। उनको स्थानमा नामिबियासँग जितेन्द्र मुखियालाई खेलाइएको थियो। तर वर्षाका कारण उनले १ ओभरमात्र बलिङ गर्दा अझै लयमा फर्किनसकेको अनुभव दसानायकेको थियो। स्पिनतर्फ सदावहार जोडी वसन्त रेग्मी र शक्ति गौचनलाई सागर र पारसले सघाउनेछन्।

आयरल्यान्डसँगको खेल ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता बोकेको नेपालको नवौं खेल हुनेछ। नेपालले यसअघिका ८ मान्यता प्राप्त खेलमा ३ मा विजय र ५ मा हार बेहोरेको छ। नेपालले हालै नेदरल्यान्ड्ससँग चार खेलको शृंखला ३–१ ले गुमाए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले तोकेको आठ खेल खेल्दै विश्व वरीयतामा प्रवेश पाएको थियो।