संघिय सीमाको टुङ्गो संविधान अघि वा पछि भन्नेमा विवाद

असार २८, काठमाडौँ – १६ बुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरुबीच नै सीमांकनको विवाद मिलाएर मात्र संविधान जारी गर्ने वा संविधानपछि मिलाउने भन्नेमा मत बाझिएको छ । संविधान जारी भएको ६ महिनाभित्र आयोग मार्फत सीमाङ्कनको विवाद मिलाउने १६ बुँदेमा उल्लेख गरिएको छ । एकीकृत माओवादीका शीर्ष नेताहरुले पनि सीमांकनको विवाद मिलाएर संविधान जारी गर्नुपर्ने बताएका छन् । सीमा विवाद टुङ्गो लगाउने विषयमा दलका नेताहरुबीच आन्तरिक छलफल पनि भइरहेको छ । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाले सक्रियता लिनुभएको छ ।

एमाले भित्र पनि केही नेता विवाद समाधान गर्ने प्रयासमा लागेका छन् । एमाले नेता सुरेन्द्र पाण्डेले संघियता टुङ्गो लगाउने विषयमा छलफल भइरहेको बताउनुभयो । तर सीआईएनसँगको कुराकानीमा एमाले उपाध्यक्ष भीम रावलले १६ बुँदे सहमतिबाट कुनै पनि दल पछि फर्कन नसक्ने बताउनुभयो । उहाँले सहमति अनुसार संविधान जारी हुने र त्यसपछि सीमाको विवाद टुङ्गो लाग्ने बताउनुभयो । राष्ट्रपति, सभाध्यक्षले पनि सीमांकनको विवाद मिलाएर संविधान जारी गर्नुपर्ने बताउँदै आउनु भएको छ ।