१२औं सागमा कराँते पनि समावेश हुने

असार २५,काठमाडौं – भारतमा आयोजना हुने १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कराँते पनि समावेश हुने भएको छ ।

नेपाललाई सर्वाधिक पदक दिलाउने खेल कराँते आगामी फेब्रुअरीमा हुने ‘साग’मा समावेश हुने निश्चित भएको हो । आसन्न सागमा कराँते समावेश नहुने चर्चा चलेसँगै सम्बन्धित खेलाडी तथा खेल संस्थाहरु चिन्तित बनेका थिए ।

भारतका २ दुईओटा कराँते संघबीचको विवादका कारण सुरुमा आसन्न सागमा कराँते नराख्ने प्रस्ताव गरिएको थियो । तर, गत बुधबार नयाँ दिल्लीमा बसेको दक्षिण एसियाली ओलम्पिक काउसिन्सलको बैठकले कराँतेलाई पनि समावेश गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले जानकारी दिए ।

बैठकमा नेपाल ओलम्पिक कमिटीले तेक्वान्दो, उसु, बास्केटबल, भलिबललगायत खेलमा महिला इभेन्ट पनि समावेश गर्न माग गरेको भन्दै प्रधानले सरोकारवाला खेल संस्थाहरुले पनि त्यसमा चासो दिनुपर्ने बताए ।