संविधान जारी गर्नुअघि नै सीमांकन टुंग्याउन सकिन्छ : पौडेल

असार २५, बुटवल – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्नु अघि संघीयताको सीमाङ्कन टुंग्याउन सकिने बताउनु भएको छ । समाजसेवी तथा राजनीतिज्ञ सूर्यप्रसाद प्रधानको योगदान समेटिएको पुस्तकको शुक्रबार बुटवलमा बिमोचन गर्दै उहाँले सबै पक्षले आ आफनो हठ र अडान त्याग्ने हो भने सीमाङ्कन संविधान जारी गर्नुअघि नै संभव रहेको बताउनुभयो ।

तर उहाँले सीमाङकनकै कारण संविधान जारी गर्न नरोकिने बताउनु भयो । संघीयता संविधानको अंग भइसकेका कारण शंका नगर्न आग्रह गर्दै उहाँले धेरै प्रदेश भने देशले धान्न नसक्ने बताउनु भयो ।
उहाँले नेपालको संविधान लोकतान्त्रिक र बामपन्थी आन्दोलनको मिलनविन्दु समेत हुने बताउनु भयो । संविधानको मस्यौदाले जिल्लालाई अधिकार दिन कञ्जुस्यार्इं गरेको बताउदै कांग्रेस उपसभापति पौडेलले जिल्लालाई बलियो बनाउने गरि मस्यौदामा सुझाव दिन नागरिकसँग आग्रह समेत गर्नुभयो ।