बोको हरामद्वारा १८ गाउँलेको हत्या

असार २४, काठमाडौं –  नाइजेरियाको लके चाद नजिकैको एक चादियन सहर मेमोरोममा गत सोमबार नाइजेरियाको इस्लामिक आतङ्ककारी समूह बोको हरामले गरेको एक आतङ्ककारी आक्रमणमा १८ जना गाउँलेको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले बुधबार सो जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यमले स्थानीय व्यक्तिहरुलाई उद्धृत गर्दै जनाएको यस समाचारअनुसार मुसलमान समुदायको महान् पर्वको महिना रमाजानका अवसरमा दिनभरको व्रतपछि खाना खानका लागि जम्मा भएका व्यक्तिलाई आक्रमण गरी हत्या गरिएको थियो । लके क्षेत्रका गभर्नर युनुस् केदाल्लाह हमिद सो इलकामा जानुभएको र उहाँका अनुसार भने आक्रमणमा तीन व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

हमिदका अनुसार ती गाउँलेहरुका आतङ्ककारी समूहमा सहभागी हुन अस्वीकार गरेपछि सो हत्या गरिएको हो । गत अप्रिल ६ मा पनि साप्ताहिक हाट बजारबाट फर्किरहेका सात गाउँलेको बोको हराम आतङ्ककारी समूहले हत्या गरेका थिए । चादियन राजधानी जामेनामा गत जुन १५ मा भएको दुई वटा आत्मघाती आक्रमणमा ३८ व्यक्तिको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका थिए ।

उत्तरी नाइजेरियामा एक सरकारी कार्यालयलाई लक्ष्य गरी गत मङ्गलबार गरिएको आत्मघाती बम विष्फोमा परी कम्तीमा पनि २५ जनाको मृत्यु हुनुका साथै अन्य ३१ जना गम्भीर घाइते भएका कुन्दुना राज्यका गभर्नर नासिर एल रूफाइले बताएका थिए । गत आइतबार जोस सहरमा रहेको मस्जिद र रेष्टुरेन्टमा गराएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ४४ व्यक्तिको मृत्यु भएको थियो । सोही दिन पोटिस्कुम सहरमा रहेको एक चर्चमा भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको थियो ।

मुसलमान समुदायको महान् पर्वको महिना रमाजानलाई विषेश लक्ष्यगरी उत्तरपूर्वी नाइजेरियामा भएको आतङ्तककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले कडा शब्दमा निन्दा गरेका थिए । नाइजेरियाको उत्तर पश्चिममा पर्ने बोर्नो राज्यको तीन वटा सहरमा भएको गत महिनाको अन्त्यसम्म बोको हराम आतङ्ककारी समूहले गरेको आतङ्ककारी आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

सन् २००९ यता बोको हराम आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वका कारण १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै १० हजारभन्दा बढी घाइते भएका जनाइएको छ ।