​ट्वीटर प्रयोगकर्ताको अभियानबाट बन्यो चेपाङ बस्तीमा स्कुल

असार २२ , काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय युवाहरुले गोरखामा भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण गरेका छन्। ट्वीटरमै शुरु भएको अभियानबाट संकलन भएको ६२ हजार ५ सय रुपैयाँले चेपाङ समुदायका बालबालिका पढ्ने विद्यालयको भवन बनाएका हुन्। विद्यालय भवन निर्माणका लागि ट्वीटर प्रयोगकर्ताहरुले टिसर्ट छपाएर बिक्री गरी रकम संकलन गरेका थिए। यो अभियानका लागि काठमाडौं बाट  हेमन्त वन, सरोज बस्नेत, राजकुमार भट्टराई, घनश्याम श्रेष्ठ, लक्ष्मण कार्की , शिव चालिसे, दिपेश घिमिरे, हरिश डीसी, अनुसा स्वाँर गरि ९ जना को टोलि त्यस  ठाउमा पुगेर श्रमदान गरेका थिए ।

भूकम्पले भत्काएको भवनका काठ र जस्तापाता प्रयोग गरी ५ कोठे भवन बनाइएको छ जसमा नयाँ रंगीन जस्तापाताको छानो हालिएको अभियानकर्मी सरोज बस्नेतले बताए। अभियानकर्मीहरुले शौचालय निर्माणका लागि जस्तापाता किन्ने रकम ब्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर चेपाङलाई दिएका छन्।

संकलन भएको केही रकम बचेकाले केही रकम फेरि संकलन गरि अर्को विद्यालय बनाउने योजना बनाइरहेको अभियानकर्ता हेमन्त वनले बताए। भूकम्पले विद्यालय भत्काएको २ महिना बितिसक्दा पनि भवन निर्माणका लागि सहयोग नपाएपछि विद्यालयले त्रिपालमुनी कक्षा सञ्चालन गरिरहेको थियो। विद्यालयका ४५ जना विद्यार्थीमध्ये अधिकांश चेपाङ समुदायका रहेका प्रधानाध्यापक लालमाया आलेले बताइन्।